नुभिवको शव भेटिँदा साथीलाई फोन, भेटिएन मोबाइल

नुभिवको नम्बरबाट एक साथीलाई ४ वैशाख (१७ अप्रिल) बिहान फोन गएको थियो, घटनाको एक महिना बितिसक्दा पनि मोबाइल भेटिएको छैन
अनुप पौडेल, पोखरा
ललितपुरका १८ वर्षीय नुभिव उप्रेती गत ४ वैशाखमा पोखराको फेवातालमा मृत भेटिए । तालमा बिहानै पौने सात बजे मृत भेटिएका नुभिवको फोन भने अझै भेटिएको छैन । अचम्म के छ भने, शव तालमा भेटिँदा नुभिवका एक जना साथीलाई फोन गएको थियो ।
मृतक नुभिवका साथी सहिष्णु घर्तीलाई ४ वैशाखमा बिहान ६ः४९ बजे ह्वाट्सएपमा नुभिवबाट फोन गएको थियो । जबकि ६ः४५ मा नुभिवको शव फेवातालको बाराही मन्दिर क्षेत्रमा भेटिएको थियो ।
‘बिहान साढे दुई बजे र अन्दाजी ६ः४० बजेतिर दुई पटक मेरो ह्वाट्सएपमा नुभिवले मिसकल गरेका रहेछन् तर मेरो मोबाइल राति सुत्ने बेलामा वाइफाइ अफ गरेकाले थाहा पाएको थिइनँ,’ सहिष्णुले बयानमा भनेका छन्, ‘बिहान उठेर नुभिवको मिसकल देखेपछि मैले ह्वाट्सएपमा कलब्याक गरेको थिएँ । तर, कल लागेन ।’
सहिष्णुलाई ४ वैशाख (१७ अप्रिल) बिहान नुभिवको नम्बरबाट ह्वाट्सएपमा फोन गएको स्कृनसट समाधानलाई प्राप्त भएको छ । सहिष्णुलाई नुभिवको शव भेटिएपछि कसरी फोन गयो भन्ने विषय रहस्य नै छ । प्रहरीसँग पनि यसको केही जवाफ छैन । सहिष्णु र नुभिवबीच एक वर्षदेखि चिनजान थियो ।
एक वर्षमै राम्रै दोस्ती भएका उनीहरु दैनिकजस्तो ह्वाटस्एप र इन्स्टाग्राममा कुरा गर्थे । नुभिवले आफू पोखरा जान लागेकोबारे ३ वैशाख र त्योभन्दा अगाडि सहिष्णुलाई केही भनेका थिएनन् ।
नुभिव पोखरा गएको जानकारी उनले मृत्युको खबरपछि थाहा पाए । ‘बिहान अन्दाजी साढे ८ बजेतिर विप्लव अधिकारी (साथी)ले फोन गरी नुभिव पोखरामा बितेछ, निजको लास भेटिएछ भनी जानकारी गराएपछि थाहा पाएँ,’ सहिष्णुले भनेका छन् ।
मृत्युपछि साथीलाई फोन गएको विषयबाहेक नुभिवले मध्यरातमा आमालाई म्यासेज र रात साढे दुई बजे उनले अरु दुई जना साथीलाई पनि इन्स्टाग्राममा फोन गरेका थिए । त्यतिमात्रै होइन आमा भगवतीकुमारी मैनाली (भीमा)लाई राति साढे दुई बजे नुभिवले बैंक, आइमएइ पेको पासवर्ड पठाएका थिए । नुभिवले त्यतिबेला आफू खतरामा समेत रहेको भनेका थिए ।
त्यसरी म्यासेज र गोप्य पासवर्ड पठाएको ४५ मिनेटपछि नुभिवलाई तीन जना किशोरले पोखरा ६ लेकसाइडको स्ट्रीट नम्बर १३ मा कुटपिट गरे । कुटपिट गर्नेहरुले नै हत्या गरे वा कुटपिटपछि घरतर्फ गए प्रहरीले सार्वजनिक गरेको छैन ।
कुटपिटमा संलग्न ३ जनामध्ये दुई जनालाई गत ७ जेठमा जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि जिल्ला कारागार कास्की पठाएको छ । एक जना नाबालक भएकाले बालसुधार गृह पठाइएको छ ।
स्याङ्जा फेदीखोला गाउँपालिकाका १९ वर्षीय बिगेन गुरुङ र स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका १९ वर्षकै बासुदेव गुरुङलाई थप अनुसन्धान गर्न सकिने गरी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
अदालतले कुटपिट गर्नेले नै हत्या गरेको भनिसकेको छैन । अदालतमा तीन जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्धा दर्ता भएको छ । यी तीन जनाविरुद्ध नुभिवकी आमा भगवतीकुमारी मैनाली (भीमा) ले २४ वैशाखमा किटानी जाहेरी दिएकी थिइन् ।
प्रहरीको रेडिमेड जवाफ – अनुसन्धान जारी छ
घटनाको अनुसन्धानमा प्रहरीले सुरुबाटै चासो नदिएको आरोप पीडित परिवारले लगाइरहँदा प्रहरी त्यसलाई नकार्छ । आफूहरुले अनुसन्धानको क्रममा प्राप्त गरेको सबै प्रमाणसहित फाइल बुझाएको कास्की प्रहरीको दाबी छ ।
तर, प्रहरीले अहिलेसम्म नुभिवले प्रयोग गर्ने मोबाइल कहाँ छ भन्ने खोज्न सकेको छैन । यो घटनाको अनुसन्धान वडा प्रहरी कार्यालय बैदामले गरेको थियो । सूचना दिन एकद्वार प्रणाली भएकाले बैदाम प्रहरीकी प्रहरी नायब उपरीक्षक (डिएसपी) चिनीमाया तामाङले नुभिवको मृत्युबारे बोलिनन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमाल बिदामा छन् । कास्की प्रहरीका इन्स्पेक्टर दीपक केसीले मोबाइल खोजी र त्यससम्बन्धी कार्य जारी रहेको प्रतिक्रिया दिए ।
‘यो घटनाको विषयमा अनुसन्धान निरन्तर छ । ल्याबको परीक्षणलाई पठाएको कुराहरु आउन बाँकी छ,’ उनले भने, ‘मोबाइल हालसम्म भेटिएको अवस्था छैन । मोबाइलमा हुनसक्ने डकुमेन्ट मगाउने प्रक्रिया हामी गरिरहेका छौँ ।’
यो घटनाको अनुसन्धानमा प्रहरीले सुरुबाटै खासै चासो दिएको देखिँदैन । प्रहरीले आत्महत्या भएको भन्दै सुरुमा जाहेरी नै लिन मानेन । शव भेटिँदा पानीमा डुबेको भनिएको थियो । शरीरमा चोट देखिएपछि परिवारले हत्या भनेर जाहेरी दिन खोज्दा प्रहरीले आत्महत्या भन्यो ।
पटकपटक धाएपछि बल्ल प्रहरीले अनुसन्धान सुरु ग-यो । यो विषय अदालतमा रहेकाले प्रहरीले पनि हत्या हो/होइनबारे केही बोलेको छैन । प्रहरीले हत्यारा भेटिएको भनेपछि तीन जनाविरुद्ध आफूहरुले किटानी जाहेरी दिएको आमा भीमा बताउँछिन् । ‘तीन जनाले मारेको पत्ता लाग्यो । तपाइँहरु किटानी जाहेरी दिनुहोस् भनेर एसपी जीवनले भनेपछि दिएको हो,’ उनले भनिन् ।
आफ्नो छोराको हत्या नै भएको भीमाको दाबी छ । पेटमा पानी नभएको र टाउकोसहित शरीरका विभिन्न भागमा चोट भएकाले कुटपिटपछि हत्या गरेर तालमा फालिएको भीमाको जिकिर छ । ‘पोस्टमार्टम रिपोर्टले टाउकोको चोटबाट मृत्यु भएको भनेको छ । पेटमा पानी छैन । अल्कोहल पनि नेगेटिभ छ । सत प्रतिशत हत्या हो,’ भीमाले दाबी गरिन् ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया