प्रविधिमैत्री बजारले लगानीकर्ता लाभान्वित

समाधान संवाददाता २०७६ असार ८ गते १४:२३

समाधान संवाददाता
पोखरा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेप्से स्थापना भएको २५ वर्ष भइसके पनि नेपालको कुल जनसंख्यालाई आधार मान्दा यो अझै बाल्यावस्थामा नै रहेको बताएका छन् । पोखरामा आयोजित ‘नेपाली पुँजी बजारका समाकालीन सवालहरु’ विषयमा भएको अन्तक्र्रियामा साउदले उक्त विचार व्यक्त गरेका हुन् ।

नेप्से र पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेस पूर्व विद्यार्थी मञ्चले आयोजना गरेको कार्यक्रममा उनले हाल पुँजी बजार प्रविधि मैत्री हुनाले यसबाट लगानीकर्ताले पारदर्शी रुपमा कारोबार गर्न पाएको बताए । नेप्सेले अनलाइन प्रणाली सुरु गर्दाको दिनलाई सम्झँदै उनले भने,‘बजारबाट अनियमित तवरले अकूत धन आर्जन गर्नेले अनलाइन प्रणालीलाई लागु हुन नदिन त्यसबेला यसका विरुद्ध धेरै अनर्गल प्रचारबाजीसमेत गरेका थिए ।’

Advertisement

अर्थ मन्त्रालय बैंक तथा वित्तीय महाशाखाका उप सचिव वैकुण्ठनिधि शर्माले पुँजी बजारमा लगानी गर्दा अरुको लहलहैमा नलागेर लगानीकर्ताले अध्ययन तथा विश्लेषण गरेरमात्र अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेप्सेका प्रवक्ता मुरारी पराजुलीले नेपालको पुँजी बजारका विविध पक्षमा प्रष्ट्याए । वरिष्ठ सूचना प्रविधि अधिकृत प्रभाकर घिमिरेले नेप्सेको वेभसाइटमार्फत गरिने अनलाइन कारोबारका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा पोखरा विश्वविद्यालय केन्द्रीय आंगिक कलेज स्कुल अफ बिजनेसका निर्देशक डा.रवीन्द्र घिमिरेले पनि आफ्नो धारणा राखेका थिए ।

Advertisement

पोखरा विश्वविद्यालयको केन्द्रीय आंगिक कलेज र पोखरा कलेज अफ म्यानेजमेन्टका विभिन्न विद्यार्थी क्लबको समन्वयमा भएको कार्यक्रमको अन्तक्र्रिया सत्रमा अञ्जली पौडेल, गौरव पराजुली, कपिल पौडेल, निरज खड्का, बिनु श्रेष्ठ, मनोज पौडेल लगायतले बोलेका थिए ।

पूर्व विद्यार्थी समाजका अध्यक्ष डा. चैतन्य अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य सुवास मल्लले गरेका थिए ।

तपाईको प्रतिक्रिया