प्रहरी नियन्त्रणमा रहेका कुख्यात विकास दुवे इन्काउन्टरमा मारिए

समाधान संवाददाता २०७७ असार २६ गते १०:४१

समाधान संवाददाता

भारतका कुख्यात अपराधी विकास दुवे प्रहरी नियन्त्रण मै रहेको अवस्थामा शुक्रबार विहान प्रहरी इकाउन्टरमा मारिएका छन् ।

युपी प्रहरीले दुवे भाग्ने खोजेकाले जवाफी कारवाही गर्दा मारिएको बताएको छ । भारतमा अहिले यसलाई फर्जी इन्काउन्टर भन्दै बहस सुरु भएको छ ।

Advertisement

८ दिन अघि ८ प्रहरीको हत्या गरेर फरार रहेका दुवे विहीबार मध्य प्रदेशको उज्जैनमा पक्राउ परेका थिए । उनलाई मध्य प्रदेश प्रहरीले विहीबार नै युपी प्रहरीलाई हस्तान्तरण गरेको थियो ।

दुवेलाई लिन युपीबाट ५० वटा गाडी उज्जैन पुगेका थिए । ती मध्ये अधिकांश उस्तै थिए । सयौं मिडियाकर्मीले दुवेको काफिलाको पिछा गरेको भए पनि उनलाई कुन गाडीमा राखिएकाे छ भन्ने मेसो समेत पाउन सकेका थिएनन् ।

Advertisement

भारतीय मिडियाका अनुसार दुवेलाई लैजादै गरेको बाटोमा सुरक्षा व्यवस्था निकै कडा गरिएको थियो । शुक्रबार विहान जहाँ इन्काउन्टर भयो त्यो भन्दा केही अगाडी सुरक्षा जाँच भन्दै दुवेलाई लिएर गएका गाडीहरु बाहेक अरु सबैलाई रोकिएको थियो ।

झन्झटिलो सुरक्षा जाँच पार गरेर मिडियाका गाडी अघि बढ्दा कुनै वस्ती नभएको सुनसान जग्गामा प्रहरीको एउटा गाडी कोल्टे परेको अवस्थामा थियो ।

युपी प्रहरीले सो कोल्टे परेको गाडी विकास दुवे चढेको गाडी भएको बताएको छ । गाडी पल्टेपछि दुवे प्रहरीको पिस्तोल खोसेर भागेको र उनलाई पिछा गर्दै गएको प्रहरी टोलीले जवाफी कारवाही गर्दा दुवे घाइते भएको दावी गरेको छ ।

दुवेलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृतक घोषित गरेका थिए ।

कानपुरमा विकास दुवेलाई पक्राउ गर्न गएको प्रहरी टोली माथि एके ४७ गनले अन्धाधुन्ध गोली हानी ८ जना सुरक्षाकर्मीको हत्या र ६ जना घाइते बनाएपछि युपी प्रहरीको ४० टिम विकास दुवे र उनको ग्याङको खोजीमा जुटेको थियो ।

सोही क्रममा विकास दुवे ग्याङका ६ जना युवा प्रहरी इन्काउन्टरमा मारिइसकेका छन् भने २ जना घाइते अवस्थामा पक्राउ परेका छन् ।

आफ्ना साथीलाई इन्काउन्टर गर्दै मार्दै गरेपछि विकास दुवेमा पनि प्रहरीले इन्काउन्टर गर्ने डर थियो । त्यसैले उनले युपी छोडेर उज्जैन पुगका थिए ।

मास्टर माइन्ड तथा कुख्यात अपराधी दुवेलाई ज्यान कसरी बचाउनु पर्छ भन्ने थाहाँ थियो । त्यसैले उज्जैन प्रहरीको नियन्त्रणमा आएपछि उनले चर्को स्वरमा ‘मै विकास दुवे हुँ, कानपुरवाला…… इन्होने मुझे पकड लिया हैं’ भन्दै चिच्याउदै गरेका थिए । यसो गरेमा प्रहरी हत्या गर्न डराउनेछ भन्ने उनको विश्वास थियो ।

तर शुक्रबार विहान उनी मारिएका छन् । समाजवादी पार्टीका नेता अखिलेश यादवले गाडी दुर्घटना भएको नभै प्रहरी आफैले कोल्ट्याएको दावी गर्दै ट्वीट गरेका छन् ।

तपाईको प्रतिक्रिया