स्कुलमा बेर्ना, करेसाबारीमा तरकारी

समाधान संवाददाता २०७५ फागुन २३ गते ८:३९

समाधान

पुतलीबजार ४ की विष्णुमाया भुजेल भकारोमा मल केलाउँदै थिइन् । उनले त्यो मल छोरी अञ्जनालाई दिइन् । आमाले दिएको मल अञ्जनाले घरकै करेसाबारीमा खनिएको खाल्डोनेर खन्याइन् ।

एकछिनपछि आमाछोरी सँगसँगै खाल्डोमा बेर्ना कसरी लगाउने छलफल गर्न थाले । विष्णुमायाले छोरीकै सल्लाह अनुसार तरकारीको बेर्ना लगाउँदै अञ्जनालाई सघाउँदै थिइन् । विद्यालयको प्रयोगात्मक शिक्षालाई अञ्जनाले घरमा गएर व्यावहारिक रुपमा उतार्न सिकाइन् ।

Advertisement

कक्षा ८ मा अध्ययनरत अञ्जना जस्तै रामकोस फूलबारी माविका कक्षा ६,७ र ८ का सबै विद्यार्थीलाई गत माघ ४ गते करेसाबारी तालिम दिइएको थियो । वडा कार्यालयको विद्यार्थी करेसाबारी कार्यक्रममार्फत विद्यार्थी तथा अभिभावकलाई करेसाबारी तालिमसहित कृषि औजार र बीउबीजन वितरण गरेको थियो ।

विद्यालयमा उत्पादन भएका तरकारी फलफूलका बेर्ना घर घरमा लगेर अभिभावक र विद्यार्थीले घरकै करेसाबारीमा सँगसँगै तरकारी लगाउन थालेका हुन् । अहिले यहाँ अध्ययनरत विद्यार्थीले घरमा खाडल खन्ने, मल माटोको मिश्रण मिलाउने र आफूले विद्यालयमा उत्पादन गरेको तरकारी तथा फलफूलको बेर्ना घरमा लगेर अभिभावकसँगै लगाउन थालेका छन् ।

Advertisement

‘हामीले परम्परागत खेती गर्दै आयौं, मेहनत बढी उत्पादन, कम हुन्थ्यो तर छोरीले उत्पादन बढी गर्न यसो गर्नुपर्दछ भन्दै मलाई सिकाउँदा गर्व लाग्यो,’ विष्णुमाया भन्छिन् । कृषिप्रधान देश भएकाले फालिएका जमीन उपयोग गर्न विद्यालबाट नै सीप सिकाइएको पुतलीबजार ४ का अध्यक्ष ओम खड्काले बताए ।

तपाईको प्रतिक्रिया